Friday, July 17, 2026

बुवालाई एउटा चिठी

 

नोट: आमाले आफ्ना बुवाको सम्झनामा चौध वर्षअघि लेख्नुभएको चिठी। 


मिति: २०६९/०८/१०

प्रिय बुवा,

हामी सबै यहाँ सन्चै छौँ। तपाईं पनि जहाँ हुनुहुन्छ, त्यहाँ शान्ति र सुखमा हुनुहुन्छ भन्ने विश्वास गर्छु।

हरेक बिहान करिब पाँच बजे उठेर ध्यानमा बस्ने मेरो बानी छ। त्यस बेला आकाशमा एउटा चम्किलो तारा देखिन्छ। म त्यसै तारालाई तपाईं सम्झेर हेर्छु र मनमनै भन्छु, "बुवा!" त्यो तारा तपाईं नै हो जस्तो लाग्छ। त्यसैले तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ आनन्द र आराममा हुनुहुन्छ भन्ने अनुभूति हुन्छ।

बुवा, तपाईंलाई एउटा खुसीको खबर सुनाउन मन लाग्यो। अहिले अलैँचीको मूल्य बढेर प्रतिमन ४० हजार रुपैयाँ पुगेको छ। अझ तीन वर्षअघि त यसको मूल्य ६० हजार रुपैयाँसम्म पुगेको थियो। तपाईं हुनुहुन्थ्यो भने यो खबर सुनेर कति खुसी हुनुहुन्थ्यो होला! अलैँचीप्रति तपाईंको माया र मेहनत सम्झँदा अहिले पनि मन भरिन्छ। तर नियतिले तपाईंलाई धेरै छिट्टै हामीबाट टाढा लग्यो।

तपाईंले छोडेर जानुभएको भैँसी अहिले पनि घरमै छ। उसले राम्रो दूध दिन्छे, र घिउ पनि निकै स्वादिलो हुन्छ। त्यस भैँसीको दूध र घिउ हामीले कति खायौँ, त्यसको हिसाब नै छैन। उसले हरेक वर्ष बाछाबाछी पनि जन्माउँछे। साँच्चै, कति राम्रो भैँसी छ। आमाले धेरै दुःख गरेर अझै पनि त्यसलाई माया गर्दै पालिरहनुभएको छ।

तर तपाईंलाई धेरै माया लागेको गाई भने तपाईं जानुभएको वर्षमै मरिन्। कहिलेकाहीँ मनमा लाग्छ, सायद त्यो गाई पनि तपाईंलाई धेरै माया गर्थी। त्यसैले तपाईं गएको धेरै समय एक्लै बस्न नसकेर तपाईंलाई नै साथ दिन आइपुगी होली। अहिले तपाईंहरू दुवै जहाँ हुनुहुन्छ, सँगै हुनुहुन्छ कि जस्तो लाग्छ।

बुवा, तपाईं हामीबीच शारीरिक रूपमा नभए पनि तपाईंका सम्झना, तपाईंले सिकाएका मूल्य र तपाईंले देखाउनुभएको जीवनको बाटो आज पनि हाम्रो साथमा छन्। तपाईंको अभाव कहिल्यै पूरा हुँदैन, तर तपाईंले छोडेर जानुभएको प्रेरणाले हामीलाई सधैँ अघि बढ्न हौसला दिइरहेको छ।

जहाँ हुनुहुन्छ, सधैँ शान्तिमा रहनुहोस्। हामी तपाईंलाई हरेक दिन सम्झिरहेका छौँ।


तपाईंको छोरी

 रुकमिणी जिमी

काठमाडौं

 

 

 


No comments:

Post a Comment