Monday, December 24, 2007

पत्र

प्यारो साथी माया,
धेरै दिन पछीको मिठो सम्झना। जुम्लाको स्याउ भन्दा पनि मिठो। शायद यतिखेर जुम्ला, स्याउको बस्नाले हरर पारेर हीउँको पर्खाइमा होला। जुम्ला अनी जुम्लाको स्याउ र हीउँ अब मेरो सम्झनामा मात्र छ। जुम्लाको ति क्षणहरु एक पल्ट ताजा गर्न को लागि त्यहाँ आउन मन परेको त छ तर कहिले हो थाहा छैन।

औंलामा गन्दा जुम्ला छाडेको पनि १३ बर्षा भाईसकेछ तर हामीले बिताएको क्षणहरु सम्झदा हिजो मात्र जस्तो लाग्छ। तिमीलाई याद छ कि छैन तर मलाई तिम्रो घरमा बिताएको दिनहरु कहिले काहीं झल्झली याद आउँछ। मलाई तिम्रो घरमा जाने बाटो साह्रै डर लाग्थ्यो। मलाई तिम्रो घर खुब जान मन लाग्थ्यो तर त्यो तिम्रो घर तलको घुफा सम्झेर म जहिले पनि रोकिन्थे। मान्छेहरुले त्यहाँ भूत बस्छ भन्थे। उमेर सानै भएकोले होला मलाई साँचिकै त्यहाँ कालो भूत बसेको जस्तो लाग्थ्यो।

तिम्रो घरमा मौसम सम्बन्धी उपकरण हरु रहेछन्।मलाई त्यतिबेला ति उपकरण हरु के होलान् भनेर अचम्म लाग्थ्यो। अहिले सम्झँदा पो ति उपकरण हरु मसौम जाँच्ने उपकरण रहेछन्।हामी हावा लाग्ने ठाउँ मा भएको त्यो उपकरण मुनी बसेर कुराकानी गर्थ्यौ। हामी के बारे कुराकानी गर्थ्यौ त्यो त थाहा छैन तर म त्यो डाडु जस्तो घुमिरहेने उपकरण लाई के होला भनी सोचिराख्थे।
तिम्रो घरको बारेमा सम्झदाँ अरु कुराहरु पनि याद आउँछ। तिम्रो घरको भित्तामा थुप्रै भगवानहरुको फोटोहरु टाँसिएका हुन्थे। कुन भगवानको फोटोहरु थिए त्यो त याद छैन तर ति फोटोहरु ठुला ठुला थिए भन्ने चै राम्ररी सम्झिराखेको छु।तिम्रो घरको भन्सा पनि म कता कता सम्झन्छु। तिम्रो आमाले दिनु भएको जुम्ली रोटी अचार सँग खाएको पनि याद आँउछ।

तिमि र तिम्रो दाइ रबि, कहिले कही हाम्रो घर आएको पनि याद छ। हाम्रो घरमा भएको caram board हामी खेल्थ्यौ। म र मेरो दाइ दिन दिनै खेल्ने सँग तिमीहरु जहिल्यै हार्थ्यौ।
जुम्लामा हिउँमा खेलेको थुप्रै सम्झनाहरु छन् तर तिमी सँग हिउँमा खेलेको याद छैन। शायद तिमी आफ्नै घरमा खेल्थौ होला अनी म आफ्नै घरमा खेल्थे होला।
स्कुलमा हामी एउटै कक्षामा थियौ तर कक्षाको कुराहरु त्यती याद छैन। एउटा कुरा के याद छ भने हामी त्यो नयाँ खुलेको बोर्डइङ स्कुल लाई खुब उडाइदिन्थ्यौ।
'हाम्रो ३ कक्षामा पढाउने किताब त्यहाँ ४ कक्षामा पढाउँछ रे' हामी यस्तै भन्ने गर्थ्यौ।
जुम्लामा बस्दाको सम्झनाहरु थुप्रै छन्। तिमी सँग बिताएका सम्झनाहरु तिमीले चिट्ठी पठाउँदा धेरै याद आउँछ। लौ त अरु कुरा अर्को पत्रमा लेखौला। तिम्रो परिवारलाई हाम्रो परिवारको तर्फबाट धेरै धेरै सम्झना छ।

उही तिम्रो साथी
आरती

1 comment:

  1. Hi arati nice site and excited also i am really happy to view all your pages nice update and try to update daily so your blog will be more excitement.........


    BJ Bantawa
    http://dummali.blogspot.com/

    ReplyDelete