Sunday, October 2, 2011

११ असोज २०६८ ( 29 sep 11 ) थेम्सको सेरोफेरो


(श्रीमान् ज्युलाई फोटोको लागी धन्यबाद)

बेलुकाको ६ बजे

म थेम्स नदीको किनारमा बसिरहेको छु । घाम पर पार्लियामेन्ट र बिग बेन पछाडी डुब्न लागेको छ । चारैतिर मानिसहरुको घुइचो छ । सबै किसिमका मानिसहरु छन् यहाँ । घुम्न आउने , विधार्थी , यहाँको बासिन्दा सबै खाले । थुप्रै भाषा बोलेको सुन्न पाईन्छ यहाँ । युरोपियन, एसिअन सबै भाषा ।

थेम्स नदी निरन्तर बगीरहेको छ । मैले एक पल्ट थेम्स नदीको बारे गूगल सर्च गर्दा थुप्रै रमाइलो कुराहरु भेट्टाएको थिएँ । यो थमेस नदी बेलायतको सबै भन्दा धेरै ठाँउमा बग्ने खोला रहेछ । थेम्स को अर्थ "धमिलो " रहेछ । त्यसैले त थेम्स जहिले बाढीले छोपेको जस्तो देखिन्छ । साँच्चै भन्ने हो भने मैले यो थेम्स जस्तो कूरुप प्रक्रितिक नदी कहिल्यै देखेको छैन । बागमती त मानिसले बनाएको कुरुपताको उदाहरण हो। यो थेम्स नदी पनि कुनै बेला मानब बिकासको सिकार भएको रहेछ तर अहिले त्यस्तो अवस्था छैन । हेर्दा धमिलो देखिए पनि गहनौने चै छैन ।

यो कति गहिरो छ त थाहा भएन तर थुप्रै डुंगाहरु चलाएर बेलायतले बिदेशीको पैसा तानीरहेछ । ढुङ्गामा थुप्रै मानिसहरु कमिला जस्तै सयर गरिरहेछन् । थेम्समा सयर गर्न रमाइलो पनि किन नहोला र । यसको एकापट्टि किनारमा पुरानो पार्लियामेन्ट बिल्डिङ र बिग बेन हेर्न लायक भएर उभिएको छ भने अर्को पट्टि किनरमा लन्डन आँखा घुमीरहेछ ।

हजारौं मानिसहरु यहाँ दिनदिनै आँउछन् । फोटो खिच्छन् । धेरै मानिसहरुको घरको भितामा यहाँ खिचिएका फोटो टागिएको हुनुपर्छ ।साँच्चै पर्यटन ले यहाँ निकै पैसा कमाएको छ । सबै थेम्सले तानेको पर्यटक त हुन् यिनीहरु ...